
विराटनगर बाल सुधार गृहमा झडप, प्रहरी घाइते
विराटनगर- विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप भएको छ। झडपमा परी प्रहरीले एक वरिष्ठ हवलदार घाइते भएका छन् भने उनलाई उपचारका लागि तत्काल कोशी अस्पताल लगिएको छ।
सुधार गृहमा तनाव बढेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र अन्य सुरक्षा निकायका प्रमुखहरू पुगेका छन्।
प्राप्त जानकारी अनुसार, केही बालबालिकाले सुर्ति सेवन गरिरहेको आशंकामा प्रहरीले चेकजाँच सुरु गर्दा विवाद झडपमा परिणत भएको थियो। सुधार गृहका प्रमुख गायत्रीप्रसाद ढकालले बालबालिकाहरूले आक्रमण गर्दा प्रहरी घाइते भएको जानकारी दिएका छन्।
सुधार प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ। हाल सुधार गृहमा १२–३२ वर्ष उमेर समूहका २४९ जना राखिएका छन्, जबकि गृहको क्षमता ५० जना मात्रै हो। क्षमता भन्दा धेरै संख्या भएकाले व्यवस्थापनमा चुनौती थपिएको छ।
केही बालकहरू झडपको क्रममा भागेका हुन सक्ने आशंका गरिएको भए पनि प्रमुख जिल्ला अधिकारी यादवले सबै बालबालिकाहरू सुधार गृहभित्रै रहेको जानकारी दिएका छन्। उनका अनुसार, “बाल सुधार गृह विराटनगरमा रहेका २४९ जना सबै बालबालिका उपस्थित छन्। स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।”



कागजपत्र |
