
१३ वर्ष सजाय पाएका कैदी सुनसरीको क्षेत्रीय कारागारबाट भागे
सुनसरी- सुनसरीको क्षेत्रीय कारागार कार्यालय झुम्काबाट जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन्।
फरार हुनेमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रूपक पौडेल खत्री रहेका छन्। जिल्ला अदालत सुनसरीले सामूहिक बलात्कारको अभियोगमा २०८१ चैत २५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो। उनी २०८१ साउन २१ गतेदेखि कारागारमा सजाय भुक्तान गर्दै आएका थिए।
कारागारको ‘बी’ ब्लकमा रहेका खत्री मंगलबार राति पर्खाल नाघेर फरार भएको सुनसरी प्रहरीले जनाएको छ। फरार भएपछि सशस्त्र प्रहरी बलको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीको संयुक्त टोलीले व्यापक खोजी थालेको छ, तर अहिलेसम्म उनी फेला परेका छैनन्।
घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको बैठक बसेको छ। साथै, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।
यसअघि पनि २०६९ कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर १२ जना कैदी फरार भएका थिए।



कागजपत्र |
