गाडीभित्र भैंसीलाई यातना, बुटवल लैजाँदै गर्दा पक्राउ


अर्घाखाँची- अर्घाखाँचीमा भैंसीलाई चरम यातना दिँदै ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। धारापानीबाट सन्धिखर्कतर्फ आउँदै गरेको सिङ्गल क्याप बोलेरो गाडीमा ४ वटा भैंसीलाई सानो ठाउँमा अटाई, घाइते अवस्थामा बुटवलतर्फ लैजान खोजिएको अवस्थामा सन्धिखर्क नगरपालिका–२ घोचेखोलामा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–६ बस्ने २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ घर भएका १८ वर्षीय क्रिस बानिया रहेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार सानो गाडीभित्र भैंसीहरूलाई निर्ममतापूर्वक थुनेर यातना दिइएको थियो। गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ बमोजिम पशुपंक्षीसम्बन्धी कसूर मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया