
सहिदको योगदानकै कारण पार्टी आजको अवस्थामा : देउवा
दमौली — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैं सहिदलाई उच्च सम्मान गर्ने बताएका छन्। तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित सहिद कल्याण खनालको २३औं स्मृति दिवस कार्यक्रममा उनले सहिदकै योगदानका कारण पार्टी आजको अवस्थामा पुगेको उल्लेख गर्दै सहिदलाई कहिल्यै बिर्सन नहुने प्रतिबद्धता व्यक्त गरे।
देउवाले भने, “पार्टीका लागि सहिद भएका व्यक्तिहरूको परिवारलाई कांग्रेसले सधैं हेर्छ, उच्च मूल्यांकन गर्छ।” उनले विसं २००७ देखि लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता दोहोर्याए।
उनका अनुसार, सहिद कल्याण खनाल पनि देशका लागि जीवन अर्पण गर्ने बलिदानीमध्ये एक थिए। “उनीहरूले देखाएको बाटोमा मात्र अगाडि बढेर सहिदप्रति सच्चा सम्मान गर्न सकिन्छ,” देउवाले भने।
देउवाले सहिद खनाललाई व्यक्तिगत रूपमा चिनेको स्मरण गर्दै तत्कालीन समयमा उनले आफूलाई धेरै सहयोग गरेको बताए। कार्यक्रममा उनले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण पनि गरे।



कागजपत्र |
