
इजरायल विमानस्थलमै भक्कानिए विपिनकी आमा र बहिनी
कञ्चनपुर- हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको मुक्तिको आग्रहसहित उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल पुगेका छन्।
तेल अविव नजिकैको बेन गुरियन विमानस्थलमा अवतरण गरेलगत्तै पद्मा जोशीले भावुक हुँदै हमासलाई विपिनलाई तुरुन्त रिहा गर्न आग्रह गरिन्। “कृपया, मेरो छोरालाई उद्धार गरिदिनुहोस्। हमास, उसलाई अहिले नै घर फर्काउनुहोस्। कृपया, घर ल्याइदिनुहोस्,” उनले पत्रकारहरूसँग आँसु थाम्दै भनिन्।
आमा र बहिनी विमानस्थलमै भक्कानिएको दृश्य टाइम्स अफ इजराइलले उल्लेख गरेको छ। आमाको आग्रहपछि बहिनी पुष्पाले पनि दाइको रिहाइका लागि अपिल गर्दै भनिन्, “हामी केवल उहाँलाई फर्काउन चाहन्छौं। यो हाम्रो परिवारका लागि अत्यन्त पीडादायक भइसकेको छ। झन्डै दुई वर्ष भइसक्यो। हामी निरन्तर उहाँको अवस्थाबारे चिन्तित छौं। उहाँ के गर्दै हुनुहुन्छ होला, खाना पाइरहनु भएको छ कि छैन, औषधि पाउनु भएको छ कि छैन।”
आमा–छोरीको इजरायल बसाइका क्रममा राष्ट्रपति इसाक हेर्जोग, परराष्ट्रमन्त्री गिदेओन सारलगायतसँग भेट्ने कार्यक्रम छ।
अध्ययनका लागि इजरायल पुगेका विपिन २०२३ अक्टोबर ७ मा इजरायल–हमास युद्धको क्रममा अपहरणमा परेका थिए। सरकारले उनको रिहाइका लागि विभिन्न तबरबाट कूटनीतिक पहल गरे पनि अहिलेसम्म सफलता मिलेको छैन।



कागजपत्र |
