न्याय परिषद्का सचिवसहित २७ जना न्यायाधीश नियुक्तिका लागि सिफारिसमा


काठमाडाैं- न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीश सिफारिस गरेको छ। सिफारिसमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर पहिलो नम्बरमा परेका छन्। न्यायाधीश पदका लागि स्वयं उम्मेदवार भएकाले उनी परिषद्को आजको बैठकमा सहभागी भएनन्। उनको स्थानमा सहसचिव अशोककुमार क्षत्री बैठकमा बसेर निर्णय लेखेका थिए।

विशिष्ट श्रेणीका अधिकृतमध्ये एक्ला बुढामगर न्यायाधीश बन्न सिफारिस भएका छन्, जबकि अन्य कर्मचारी उम्मेदवारहरू सहसचिव तहका छन्। कुल पाँच जना कर्मचारी उच्च अदालतमा न्यायाधीशका रूपमा सिफारिस भएका छन्।

यस सिफारिसमा १६ जना जिल्ला न्यायाधीशहरू उच्च अदालतमा बढुवा भएका छन् भने ६ जना कानुन व्यवसायीले पनि स्थान पाएका छन्।

कर्मचारीबाट सिफारिसमा परेकामध्ये सरकारी वकिलतर्फबाट १ जना, कानुन अधिकृततर्फबाट १ जना र न्याय सेवा अधिकृततर्फबाट ३ जना छन्।

जिल्ला न्यायाधीशहरूमध्ये उच्च अदालतमा सिफारिसमा सबैभन्दा अगाडि गोपालप्रसाद बास्तोला छन्, जो हाल धादिङ जिल्ला अदालतमा कार्यरत छन्। कार्यक्षमता र वरीयतामा अगाडि रहेका बास्तोलालाई यसअघि छुटाइएको थियो।

उनीसँगै जिल्ला न्यायाधीश गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल, दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली, उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई पनि उच्चमा उक्लिने भएका छन्।

यसैगरी उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि न्यायाधीश सिफारिसमा परेका छन्।

कानुन व्यवसायीको कोटाबाट सिफारिसमा परेकामा शर्मिला थापा विष्ट (मनमैजु–९, काठमाडौं), प्रतापसिंह ठकुराठी (महेन्द्रनगर–४, कञ्चनपुर), बालकृष्ण गैरे (शिवमन्दिर–७, नवलपरासी), निशा बानियाँ (लेखनाथ–१, कास्की), श्यामकुमार विश्वकर्मा (सभापोखरी–१, संखुवासभा) र अरुणकुमार पञ्जियार (जनकपुर–१५, धनुषा) छन्।

Skip to PDF content

प्रतिक्रिया