
‘सानुभाइ’सहित चार जना २६ साउनसम्म हिरासतमा बस्ने
काठमाडौं- ठमेल क्षेत्रमा गुण्डागर्दी र झगडा गरेको आरोपमा पक्राउ परेका चार जनालाई २६ साउनसम्म हिरासतमा राखिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रोपटक २६ साउनसम्मको म्याद थप गरेपछि उनीहरूको हिरासत अवधि लम्बिएको हो। पक्राउ परेकामध्ये ‘सानुभाइ’का नामले चिनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन्।
प्रहरीका अनुसार १४ साउनमा ठमेलस्थित नगरकोट दोहोरी साँझमा दुई समूहबीच झगडा भएको थियो। सानुभाइ र राजेन्द्र गुरुङ पक्षबीच विवाद चर्किएपछि कुटाकुटसमेत भएको जनाइएको छ।
विवादपछि उनीहरूलाई प्रहरीले पक्राउ गरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार अभद्र व्यवहार र सार्वजनिक शान्ति भंगसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
