

सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना

काठमाडौं – सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रजातिको कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक÷ एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले तीन जनामा कोरोनाका नयाँ भेरियन्ट भएको पुष्टि गरे। एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो।
नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको कार्कीले बताए।
अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्। नयाँ भेरिएन्ट पुष्टि भएपनि कुन प्रकारका हो भनेर पुष्टि नभएको कार्कीले बताए।

