विश्वप्रकाश र गगनलाई रोक्न नसके देउवालाई चुनौति, कोइराला परिवारमा पुग्न सक्छ कांग्रेस नेतृत्व


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवा आफैं दोहोरिने आन्तरिक तयारीमा छन्। तर, उनका लागि बाधक छन् उपसभापति बिमलेन्द्र निधि।

निधिले देउवालाई एक कार्यकाल सभापतिमा सहयोग गर्नका लागि अर्को पुस्ताका नेता विश्वप्रकाश शर्मा र गगन थापा दुवैलाई महामन्त्री पदमा रोक्नुपर्ने सर्त सारेका थिए।

तर कोइराला परिवारले थापालाई महामन्त्रीमा राख्दै शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ। थापाले त जसरी पनि यसपटक ‘भाइटल रोल’मा उत्रिने सार्वजनिक घोषणा नै गरेका छन्।

उनले पुस्तान्तरणको राजनीतिका लागि सभापतिमा नै उम्मेदवारी दिन सक्नेसम्मका घोषणा गरिसकेका छन्। तर देउवाबाहेकको पुस्ता सभापतिमा आए उनी महामन्त्री पदका लागि तयार हुनेछन्। उनी एक पटक महामन्त्री पदमा महाधिवेशनमा चुनाव लडिसकेका कारणले केन्द्रीय सदस्यमा मात्र बस्न नसक्ने अडानमा छन्।

‘एक पटक महामन्त्रीमा उम्मेदवारी दिइसकेका कारण गगन थापा कुनै प्यानल मिलाएर सोही पदमा रहने वा त्यस्तो अवस्था बन्न नसके सभापतिमा नै उठ्ने तयारीमा छन्’, कांग्रेस उच्च स्रोतले भन्यो,‘थापालाई व्यवस्थापन गर्नका लागि कृष्णप्रसाद सिटौलासँगको सम्झौतामा कोइराला परिवारले महामन्त्री पद दिएर सभापति पदलाई सुरक्षित गर्ने तयारी गरेका छन्।’

यदि थापा यसरी अगाडि आए देउवा प्यानलमा रहेका निधिले सभापति पदमा आफूलाई उभ्याउनेछन्। जसका कारण देउवाको पुनः कांग्रेस नेतृत्वमा निर्वाचित हुने मनसाय पूरा हुनेछैन। बरु, संस्थापनमा आएको बिग्रहबीच कोइराला परिवारमा नेतृत्व फर्किन सक्ने अनुमान धेरैले गरेका छन्।

देउवाले आफू नेतृत्वमा आउने बाटोमा अवरोध देखे निधिलाई सर्तसम्मत सहयोग गर्न सक्ने धेरैले अनुमान गरेका छन्। त्यसका लागि उनले पत्नी आरजु देउवालाई उपसभापतिमा मनोनित गर्नुपर्ने शर्त अगाडि ल्याउनेछन्। निधिले महामन्त्रीमा आफूलाई सहयोग गर्ने सिनियर नेता नपाएको खण्डमा थापासँग भिडाउनका लागि प्रवक्ता विश्वप्रकाश शर्मालाई राख्न सक्ने अनुमान गरिन्छ।

यस्ता समीकरणका चर्चा चले पनि कांग्रेसको नेतृत्वमा रामचन्द्र पौडेलेको दाबी रहँदै आएको छ। बलियो टिम बनेको खण्डमा महामन्त्रीमा शर्मालाई पौडेल समूहले पनि राख्न सक्ने कांग्रेस वृत्तमा चर्चा छ। प्दाधिकारीमा जाने या नजाने भन्ने विषयमा शर्मा आफैंले भने केही आशययुक्त जानकारी दिएका छैनन्।

‘कतिपय सिनियर नेता नै अहिले सह–महामन्त्री मात्र भएका कारणले अनेक पदको समीकरण मिलाउनुपर्ने हुन्छ। मुख्य पद सभापति भएकाले त्यसमा कस्तो र कति बलियो समीकरण देउवाका अघि आउँछ, त्यसले निर्धारण गर्नेछ’, कांग्रेस उच्च स्रोतले भन्यो।

यता प्रकाशमान सिंह, सिटौला, रामशरण महतलगायतको दाउ पनि सभापतिमा नै रहेको पाइन्छ। ‘सिनियर नेता धेरै भएको र पदाधिकारीमा पनि जाम भएका कारणले महाधिवेशनले नेतृत्वलाई कसरी सहमतिमा लग्छ भन्ने विषय अहिले अन्यौल छ तर अहिलेको चुनौतिचाहिँ देउवा दोहोरिनका लागि निधिका कस्ता सर्त हुन्छन् र ति पूरा हुनेछन् या छैनन् भन्नेमा निर्धारण हुनेछ’, स्रोतले भन्यो।

नेपाली कांग्रेसको महाधिवेशन भदौका लागि तोकिएको छ। विधानले पनि नभ्याएपछि संविधानको सहारामा भदौका लागि तोकिएको महाधिवेशन अनिवार्य रुपमा गर्नुपर्ने बताइन्छ। तर कतिपयले भने नेकपाका लागि नलाग्ने संविधान कांग्रेसका लागि मात्र लागु हुन्छ र? भन्ने तर्क पनि अघि सारेका छन्।

प्रतिक्रिया