इन्द्रबहादुर बानियाँ बागमतीको मुख्यमन्त्री नियुक्त


काठमाडौं – नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नेपालको संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन्। उनले कांग्रेस र नेकपा एमालेको समर्थनसहित ६४ जना सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी प्रस्तुत गरेका थिए। प्रदेश प्रमुखले दाबी विश्वासपात्र ठहर गर्दै उनलाई मुख्यमन्त्री बनाएका हुन्।

बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री हुन्। यसअघि यो जिम्मेवारी डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले सम्हालिसकेका छन्।

बानियाँ नेपाली कांग्रेस बागमतीका सभापति समेत हुन्। संघीय सरकारमा उनी दुईपटक राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका अनुभवी नेता हुन्।

प्रतिक्रिया