बागमती सरकारका लागि एमालेबाट यी ६ बन्दैछन् मन्त्री, कांग्रेसको अझै लागेन टुंगो


मकवानपुर — नेकपा एमालेले बागमती प्रदेशसभामा इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ ।

बागमती प्रदेश सरकारमा एमालेले भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो ।

बागमती सरकारमा एमालेले एक जनाबाहेक सबै ५ जना नयाँ अनुहार पठाउने भएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि आज कांग्रेसकै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्दैछन् । प्रदेश प्रमुखले आज २ बजेसम्मका लागि दाबी प्रस्तुत गर्न समयावधि दिए पनि मुख्यमन्त्रीका लागि हालसम्म बानियाँको मात्रै दाबी परेको छ । बानियाँलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरि आजै ४ बजे सपथ खुवाउने तयारी गरिएको छ ।

बानियाँले सपथ खाएसँगै कांग्रेसभित्रैबाट पनि केही मन्त्रीहरुलाई सपथ खुवाउने जनाइएको छ । कांग्रेसबाट मन्त्री हुनेको टुंगो भने अझै नलागेको पनि जनाइएको छ ।

प्रतिक्रिया