
आँगनबाटै कुलोमा लड्दा २ वर्षीया सुष्माले गुमाइन् ज्यान
दाङ — दाङमा आँगनमा खेल्दै गरेकी एक शिशुको कुलोमा डुबेर मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाकी दुई वर्षीया शुष्मा बस्नेत आँगनमा खेल्ने क्रममा कुलामा लड्न पुग्दा बगेर मृत्यु भएको हो ।
सोमबार बेलुकी साढे पाँच बजेतिर घरको आँगनमा खेल्दै गर्दा कुलोमा बगेकी शुष्माको बेलुकी ६ बजेतिर उद्धारपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गरिएको थियो।
शुष्माको उपचारका क्रममा राति साढे नौ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
शव पोष्टमर्टमका लागि कोहलपुरमा राखिएको छ।



कागजपत्र |
