‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकताको औपचारिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

काठमाडौंमा चार दिनसम्म चलेको स्थायी समिति बैठकपछि सोमबार पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै विप्लव नेतृत्वको नेकपासँग एकता गर्न वार्ता अघि बढाउने निर्णय भएको जानकारी दिए।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ सापकोटाले भने, ‘अब छिटै वार्ता समिति बनाएर प्रक्रिया सम्पन्न गर्ने तयारी भएको छ।’

यता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भने छलफल जारी रहे पनि तत्कालै एकताको सम्भावना नदेखिएको प्रवक्ता सापकोटाले बताए।

‘विप्लवजीको पार्टीबारे निर्णय भइसकेको छ, धेरै भन्नु परेन,’ उनले भने, ‘तर माधवजीको पार्टीसँग भने निष्कर्षमा पुगिएको छैन, छलफल जारी छ। तत्कालै एकता सम्भव देखिएन।’

माओवादी केन्द्रले विगतमा पृथक भूमिकामा रहेका वाम घटकहरूलाई एकजुट गर्दै बृहत् वाम मोर्चा निर्माण गर्ने रणनीति अघि बढाइरहेको सन्देश दिएको छ।

प्रतिक्रिया