
कञ्चनपुरमा किशोरीको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ
कञ्चनपुर- प्रेम विवाह गरेकी एक किशोरी कञ्चनपुरमा मृत फेला परेकी छन्। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १८ वर्षीया सम्झना भट्ट आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
सम्झनाको मृत्यु शंकास्पद ठहर गर्दै जिल्ला प्रहरी कार्यालयले उनका श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच यही वर्षको फागुनमा प्रेम विवाह भएको थियो। विवाहपछिदेखि नै सम्झनाले मानसिक र शारीरिक यातना भोग्दै आएको माइती पक्षको आरोप छ।
सम्झनाका बुवा भोजराज भट्टले छोरीलाई श्रीमान् पवनले पटक–पटक दुर्व्यवहार गर्ने, कुटपिट गर्ने, मानसिक तनाव दिने जस्ता कार्य गर्दै आएको बताए। “छोरीको मृत्युको कारण हत्या हुन सक्ने आशंका छ,” उनले भने, “निष्पक्ष छानबिन होस् र दोषी कारबाहीमा परोस्।”
प्रहरीका अनुसार सम्झनाको शवमा ठूला बाह्य चोटहरू भने नदेखिए पनि, नंग्य्रिएको जस्तो चोटपटक देखिएको छ। “शवको प्रकृति र माइती पक्षको दाबीलाई ध्यानमा राखेर घटनालाई गम्भीर रूपमा लिइएको छ,” प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सागर बोहराले जानकारी दिए।
सम्झना हाल कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
