
नीति विपरीत बोल्ने खनालले पार्टी छाडुन् : माधव नेपाल
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नीति विपरीत अभिव्यक्ति दिने सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट विदा हुन सुझाव दिएका छन्।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूले ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गल्ती भएको भन्नुभएको छ’ भन्ने प्रश्न उठाएपछि अध्यक्ष नेपालले प्रतिक्रिया दिँदै भने, “यदि उहाँ पार्टीको निर्णयमा सहमत हुनुहुन्न भने, नैतिकताका आधारमा पार्टीबाट बिदा लिनु ठीक हुन्छ।”
अध्यक्ष नेपालले खनालले पटक–पटक पार्टीको संस्थागत निर्णय नमान्ने प्रवृत्ति देखाउँदै आएको उल्लेख गरे। त्यसकारण उनको पछिल्लो अभिव्यक्तिको पार्टी दृष्टिकोणबाट खासै महत्व नरहेको उनको टिप्पणी थियो।
त्यसै अवसरमा बोल्दै नेता नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान तथा कानुनले पुनः राजनीतिमा प्रवेश गर्न रोक नलगाएकाले त्यो विषय उनीहरूको व्यक्तिगत निर्णयमा भर पर्ने बताए।
साथै, उनले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली एकै स्थानमा उभिएकाले वैकल्पिक सरकारको सम्भावना हाललाई देखिन नसक्ने धारणा पनि व्यक्त गरे।



कागजपत्र |
