हृदयेन्द्र शाहको जुम्ला भ्लगप्रति सांसद लामुको असन्तुष्टि


काठमाडौं- पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले कडा असन्तुष्टि व्यक्त गरेकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामाले शाहको भ्लगप्रति आपत्ति जनाउँदै जुम्लाको पहिचान देखाउने अधिकार दरबारमा हुर्किएकाहरूलाई नभएको टिप्पणी गरेकी हुन्।

हाल सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा रहेको हृदयेन्द्रको जुम्ला भ्लगमा लामाले कटु आलोचना गर्दै शाहको जुम्ला प्रवेश नै अपवित्र भएको आरोप लगाएकी छन्।

संघीय संसद्को प्रतिनिधिसभामा जुम्लाबाट निर्वाचित ल्हामुले शाहको पुस्ताले देश लुटेको दाबी गर्दै भनिन्, “उसको पूरै वंशले देशलाई कंगाल बनाउने गरी लुटेको छ। दरबारमा थुपारेको धन र विदेशको ऐशआराममा हुर्किएको, भोटे कुकुरका छाउरा हुर्केझैँ हुर्किएको साँढे प्रवृत्तिलाई जुम्ला चिनाउने अधिकार छैन।”

उनले शाहको भ्लगभन्दा सिर्जना सिज्जु जस्ता स्वतन्त्र ब्लगरले बनाएका भ्लगहरू अझ स्पष्ट र वास्तविक भए पनि मिडिया तथा सामाजिक अभियन्ताबाट चासो नपाउनु दुर्भाग्यपूर्ण भएको बताइन्। “सिर्जनाको ब्लगले न त मिडियामा स्थान पायो, न त सामाजिक सञ्जालमा चर्चित हुन पायो, किनभने उनी राजपरिवारकी सदस्य होइनन्,” लामुको तर्क थियो।

सांसद लामुका अनुसार जुम्लामा देखिएको विकास २४० वर्षे राजतन्त्रको योगदान नभई पछिल्ला १५ वर्षको गणतान्त्रिक व्यवस्थाको उपलब्धि हो।

प्रतिक्रिया