रेशमले पत्नीलाई हटाएर बुवा लालवीरलाई बनाए नाउपाको अध्यक्ष


काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउँदै लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ। काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टीका सांसदसमेत रहेका लालवीरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाएको हो। लालवीर चौधरी, टीकापुर घटनाका मुख्य योजनाकार ठहर भइसकेका रेशम चौधरीका पिता हुन्।

रञ्जिता श्रेष्ठले भने उक्त भेला अवैध रहेको दाबी गरेकी छन्। उनले आजै संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनीसमेत दिएकी थिइन्। पछिल्लो समय घुस प्रकरणमा उनको नाम मुछिएपछि उनी विवादमा परेकी छन्। श्रेष्ठ र चौधरीबीच पार्टी नेतृत्वबारे लामो समयदेखि अन्तरद्वन्द्व चल्दै आएको छ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका रेशम चौधरीले जेलमै रहेका बेला पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर नाउपा गठन गरेका थिए। तर आममाफी पाएर जेलमुक्त भएपछि रेशमले टीकापुरमै महाधिवेशन गर्दै आफैं अध्यक्ष बने। तर, ‘दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य हुन सक्दैन’ भन्ने निर्वाचन आयोगको निर्णयअनुसार पुनः श्रेष्ठकै नेतृत्वलाई वैध ठहर गरिएको थियो।

हाल रेशमको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

प्रतिक्रिया