रञ्जिताले सोधिन् संसदीय दल नेतालाई स्पष्टीकरण


काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै कारबाहीको चेतावनी दिएकी छन्। पार्टी विधानविपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न गरिएको भन्दै उनले चौधरीमाथि गम्भीर प्रश्न उठाएकी हुन्।

स्वास्थ्य समस्याका कारण केही समयदेखि पार्टी गतिविधिमा सक्रिय हुन नसकिरहेकी श्रेष्ठले आफ्नो अनुपस्थितिमा पार्टीको बैठक बोलाई अवैधानिक निर्णयहरू गरिएको आरोप लगाएकी छन्। पार्टीको अन्तरिम विधान २०७८ को धारा १७ अनुसार कारबाहीयोग्य कार्य गरिएको भन्दै उनले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएकी हुन्।

श्रेष्ठले अध्यक्षको अनुमति र उपस्थिति बिना केन्द्रीय समिति बैठक बोलाइएको, निर्वाचन आयोगले अवैध ठहर गरिसकेको महाधिवेशनको आधारमा आफूलाई महासचिव भनेर पत्राचार गरिएको, र सो कार्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने खालको रहेको आरोप लगाएकी छन्।

त्यस्तै, पहिले नै पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरिसकेका योगेन्द्र तामाङ घिसिङलाई अनिवार्य रूपमा बैठकमा उपस्थित गराई निर्णय प्रक्रियामा सामेल गराइएकोप्रति पनि उनले आपत्ति जनाएकी छन्।

श्रेष्ठले पठाएको पत्रमा लेखिएको छ, “पार्टीको एकता र जनताको भावना प्रतिकूल हुने कार्यप्रति जिम्मेवारी बहन नगरेको देखिएकाले विधान बमोजिम किन कारबाही नगर्ने भन्ने स्पष्ट कारण २४ घण्टा भित्र पेश गर्नुहोस्, अन्यथा विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ।”

प्रतिक्रिया