
जनकपुरमा आमाको प्रेमले लियाे छोरीको ज्यान
जनकपुरधाम — जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पीडित किशोरीकी आमासँग प्रेम सम्बन्धमा रहेका थिए।
धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीस्थित डेरामा आमासँग बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह पक्राउ परेका हुन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गर्दै साहलाई सार्वजनिक गरिएको हो। उनलाई बुधबार राति करिब १०:३० बजे क्षीरेश्वरनाथकै क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए।
साह यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भोगी २०७७ सालमा रिहा भएका थिए। रिहाइपछिको केही समयमै उनले दोस्रो विवाह गरेका थिए। त्यसपछि उनी मदिरा पसल सञ्चालन गर्दै आएका थिए। यस्तै क्रममा उनी आशा यादवसँग नजिकिए।
प्रहरीका अनुसार आशाको पहिलेको श्रीमानले दुवैको सम्बन्धबारे थाहा पाएपछि गाउँमै छलफल भएको थियो। छलफलपछि आशा रामबाबुसँग बस्ने र उनका पहिलेका श्रीमानले छोराछोरीको हेरचाह गर्ने सहमति भएको थियो। त्यसयता आशा र साह छुट्टै डेरामा बस्दै आएका थिए।
तर आशाको आर्थिक अवस्था सुध्रिँदै जाँदा साहसँगको दूरी बढ्दै गयो। प्रहरीका अनुसार, आशाले साहको फोन नउठाउने, बिना जानकारी डेरा सार्ने, रामबाबुको श्रीमतीलाई म्यासेज गरेर घरमा झगडा लगाउने जस्ता गतिविधि गर्दै आएको साहले बयान दिएका छन्। साथै, करिब दुई महिना अघि साहले आशालाई अटो किनिदिएका थिए, जुन पछि आशाले आफ्नै भाइको नाममा नामसारी गराएकी थिइन्।
साहले आशा पुरानै श्रीमानसँग नजिकिँदै गइरहेकाे आरोप लगाएका छन्। यही रिस र ईर्ष्याले साहलाई हिंसात्मक बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
घटनाको राति साहले बारम्बार फोन गर्दा आशाले फोन छोरी अञ्जलीलाई दिने गरेको प्रहरीको भनाइ छ। फोनमा गालीगलौज भएपछि उनी घरबाट खुकुरी लिएर आशाको डेरातर्फ गएका थिए। राति करिब ११:३० बजे उनले खुकुरी प्रहार गर्दा अञ्जलीको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अञ्जलीकी आमा आशा यादव र ढल्केवर निवासी १४ वर्षीया राशा यादव घाइते भएका थिए।
गम्भीर घाइते आशाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
