
धुलिखेलमा नक्कली सरकारी कागजात बनाउने गिरोह पक्राउ
धुलिखेल – काभ्रेपलाञ्चोकको धुलिखेलमा नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह प्रहरीको फन्दामा परेको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–१२ मा वडाध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोरखा लखन गाउँपालिका–९ घर भई हाल काठमाडौं बस्दै आएका ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–११ का ३८ वर्षीय जितेन्द्र तामाङ रहेका छन्।
प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमति लिएर छापा मार्दा विभिन्न सरकारी तथा निजी निकायका २६ थान छाप, नेपाली नोट रु ६८,७००, राहदानी, नागरिकता, शैक्षिक प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर र फोटोकपी मेसिनलगायतका सामग्री बरामद गरेको छ।
बरामद भएका छापहरूमा धुलिखेल नगरपालिका वडा नं. ११, तारा खोलागाउँपालिका (बागलुङ), हेटौंडा उपमहानगरपालिका, रत्ननगर वडा नं. १ (चितवन), नेपाल विद्यार्थी संघ, नेपाल नोटरी पब्लिक काउन्सिल, विभिन्न वडाध्यक्षहरूको छाप, साथै अस्पताल, मासु पसल, होटेल तथा कम्प्युटर इन्स्टिच्युटका छापहरू रहेका छन्।
प्रहरी अनुसन्धानका अनुसार उनीहरूले नक्कली नागरिकता, सिफारिसपत्र र शैक्षिक प्रमाणपत्रहरू तयार गरी विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई बेच्ने गरेको प्रारम्भिक खुलासा भएको छ।
जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप गरी उनीहरूविरुद्ध सरकारी छाप दुरुपयोग तथा कागजात नक्कली बनाएको अभियोगमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
