
क्यानडा पठाइदिन्छु भन्दै करिब ६६ लाख ठगी गर्ने आचार्य पक्राउ
काठमाडौं – आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय रविन आचार्य रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आचार्यले दुई जना पीडितसँग क्यानडामा रोजगारीको झुटो प्रलोभन देखाएर कुल ६५ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए।
पीडितको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानकै क्रममा काठमाडौंको सामाखुशीबाट उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका आचार्यलाई थप अनुसन्धान र कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने जालसाजीहरूबाट सचेत रहन समेत नागरिकलाई अनुरोध गरेको छ।



कागजपत्र |
