पदको लालसा छैन, पार्टी राजनीतिमा फर्कनु अधिकार हो : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदप्रति लालसा, महत्वकांक्षा वा आशक्ति नरहेको स्पष्ट पार्दै पार्टी राजनीतिमा फर्किन पाउनु आफ्नो संवैधानिक अधिकार भएको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति भइसकेपछि कुनै पनि पदको लोभ नरहेको तर देश र जनताको सेवामा पुनः समर्पित हुने मनस्थितिले पार्टी राजनीतिमा सक्रिय हुने निर्णय लिएको उल्लेख गरिन्।

उनले भनिन्, “मैले राष्ट्रकै सर्वोच्च पद सम्हालिसकेकी छु। अब मलाई कुनै पदप्रति आशक्ति छैन। तर, पार्टी राजनीतिमा फर्किनु देश र जनताको सेवा गर्ने संकल्प हो, जुन अनौठो होइन।”

पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यताका विषयमा उत्पन्न विवादप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। एमालेले गरेको निर्णयले आफूलाई दुःखी बनाएको जनाउँदै उनले संविधान, कानुन र व्यक्तिगत स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास अस्वीकार्य रहेको बताइन्। “मलाई पार्टी सदस्यताबाट वञ्चित गर्न कुनै कारण छैन। यस्तो अपरिपक्व निर्णयले पार्टीको साख नै गिर्छ,” उनले भनिन्।

भण्डारीले उत्तेजनामा आधारित निर्णयले वास्तविकता ढाक्न नसक्ने भन्दै विवेकसम्मत ढंगबाट चल्नुपर्नेमा जोड दिइन्। “जसरी मैले पार्टीको नेता भएर राष्ट्रपतिमा निर्वाचित हुने गौरव पाएको थिएँ, त्यसैगरी अब पनि मेरो जीवन पार्टी र जनताको सेवामा समर्पित रहनेछ,” उनले दोहोर्याइन्।

पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशलाई लिएर एमालेभित्र केही समयदेखि मतभेद देखिएको छ। यसैबीच भण्डारीको स्पष्ट अभिव्यक्तिले अब पार्टी नेतृत्वलाई समेत पुनर्विचार गर्न दबाव पर्ने संकेत देखिएको छ।

प्रतिक्रिया