
बिहेकाे तीन दिनमै बेहुली नगद–गरगहना लिएर फरार
काठमाडाैं – भारतको उत्तर प्रदेशस्थित बिलरख गाउँमा एक बेहुली विवाहपछि तीन दिनमै नगद र गरगहना लिएर फरार भएकी छन्। कोतवाली क्षेत्रको बिलरख गाउँका दयाराम सैनीले आफ्नो छोरा राहुल सैनीको विवाह कानपुर शहरकी एक महिलासँग ९० हजार रुपैयाँ बुझाई बिचौलियामार्फत गराएका थिए। विवाहपछि दुलही गाउँमै परिवारसँग बस्न थालिन् र सबै खुसी थिए।
तर मंगलबार राति दुलही अचानक घरबाट भागिन्। उनले बाहिरबाट ढोका लगाएर भागेको परिवारले बिहान मात्रै थाहा पाए। बिहान उठ्दा घरको मुख्य ढोका बन्द देखेपछि शंका उत्पन्न भएको थियो। खोज्दा दुलही घरमा नरहेकी थिइन्। घटनाको जानकारी पाउनेबित्तिकै गाउँलेहरू जम्मा भई खोजीकार्य सुरु गरे। खोज्दाखोज्दै दुलहीका लुगा गाउँ बाहिरको खेतमा फेला परे। तर उनी भने कतै देखिइनन्।
घरमा जडान गरिएको सीसीटीभी फुटेजमा रातको समयमा बेहुली निस्किएको दृश्य देखिएको छ। पीडित दयाराम सैनीका अनुसार दुलहीले ५० हजार नगदसहित औंठी, मङ्गलसूत्र, पाउलजस्ता ८० हजार रुपैयाँ बराबरका गरगहना लिएर फरार भएकी हुन्। उनका अनुसार विवाहमा मध्यस्थता गर्ने बिचौलियाले नै मिलेमतोमा दुलहीलाई फरार गराएको आशंका छ।
दयारामले स्थानीय प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्। विवाहअघि केही दिन बेहुली दयारामकै घरमा बसेकी थिइन्। घटना सार्वजनिक भएपछि डायल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कोतवाल राम असारे सरोजले अनुसन्धान सुरु भएको जानकारी दिएका छन्। प्रहरीले बेहुली र बिचौलियाको खोजी कार्य तीव्र बनाएको जनाएको छ।



कागजपत्र |
