काठमाडाैंकाे रामकोटमा नक्कली औषधि बनाउने गिरोह


काठमाडौं– काठमाडौंको रामकोटमा नक्कली औषधि उत्पादन तथा अनलाइनमार्फत विक्रि गर्ने गिरोहका दुई जना पक्राउ परेका छन्। औषधि व्यवस्था विभागको टोलीले नेपाल प्रहरीको सहयोगमा लोकेसन ट्र्याक गरी छापा मारेपछि दुई जना पक्राउ परेका हुन्। यद्यपि, गिरोहका मुख्य नाइके एलबी राई भने भाग्न सफल भएका छन्।

गिरोहले दुईवटा कोठा भाडामा लिएर आयुर्वेदिक तथा अचूक औषधिका नाममा नक्कली औषधि उत्पादन गर्दै आएको पाइएको छ। ती औषधि आकर्षक प्याकेजिङमा राखी दराज अनलाइन प्लेटफर्म तथा फेसबुक पेजहरूबाट बिक्री वितरण हुँदै आएको थियो।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार धुलो र पाउडरलाई विभिन्न बट्टा र खोलमा प्याक गरी औषधी भनेर बजार पठाउने काम भइरहेको थियो। ‘त्यहाँ विभिन्न ब्राण्ड र नाममा ३०–३५ वटा नक्कली औषधि फेला परेका छन्,’ बज्राचार्यले भने। उनका अनुसार शरीर स्वस्थ राख्ने, मसल बढाउने, स्तन बढाउने, यौनशक्ति वृद्धि गर्ने, मद्यपानको कुलत छुटाउने र थाइराइड नियन्त्रण गर्ने जस्ता दावी गरिएका औषधिहरूको नक्कली संस्करण भेटिएको हो।

बज्राचार्यले पक्राउ परेका दुई जनाको बयान लिइँदै गरेको र गिरोहका अन्य सदस्यबारे पनि अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। ‘अहिले उनीहरूको गोदाम सिल गरिएको छ, थप विवरण अनुसन्धानपछि खुल्नेछ,’ उनले भने।

उनका अनुसार दराज अनलाइनमा बिक्रीका लागि राखिएका ती नक्कली औषधिहरू औषधि व्यवस्था विभागको निर्देशनपछि हटाइएको छ। ‘फेसबुक र युट्युबमा राखिएका कन्टेन्टहरूको पनि सूक्ष्म अध्ययन गर्दै कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ बज्राचार्यले भने।

 

प्रतिक्रिया