
टोखाबाट समातिएकाे २५ करोडका मालिकलाई ३५ लाखमा उन्मुक्ति !
काठमाडौं- गत चैत ४ गते टोखा नगरपालिका–१ झोर क्षेत्रबाट प्रहरीले करिब २५ करोड रुपैयाँबराबरको अवैध विदेशी मुद्रा बरामद गरेको थियो। सो घटनामा मुख्य संलग्न व्यक्ति सिन्धुपाल्चोकका नारायण पौडेल रहेका थिए। उनी साे रकमका मालिक नै थिए।
पक्राउ पर्ने क्रममा भने पौडेल फरार थिए र प्रहरीले उनकै खोजी गर्दै थियो। तर केही दिनअघि अदालतले पौडेललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको छ। उनी सुटुक्क अदालतमा उपस्थित भएकाे स्राेतले बताएकाे छ।
राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानले पौडेलले उक्त रकम चीनतर्फ लगेर सुन तस्करीका लागि प्रयोग गर्ने योजना रहेको निष्कर्ष निकालेको थियाे। प्रहरी र राजस्व स्रोतका अनुसार, टोखास्थित उनको घरबाट रकम ट्रकमा लोड गरिएको देखिने फुटेज समेत फेला परेको थियो।

यसअघि लामो समयदेखि अवैध कारोबारमा संलग्न रहेका पौडेलमाथि विदेशी मुद्रा तस्करी, सुन तस्करी र हुन्डी जस्ता मुद्दाहरूमा अनुसन्धान भइरहेको छ।
पौडेलको यो रिहाइमा कानुनी प्रक्रियाको जटिलता र प्रभावशाली पक्षको दवाब रहेको चर्चा व्यापक रूपमा भइरहेको छ। विभागले अझै पनि उनको सम्पूर्ण घटनाक्रमको छानबिन गरिरहेको छ।
पौडेलले टोखास्थित आफ्नै घरमा रहेको बताइएको छ र उनी अवैध मुद्रा तस्करीको मुख्य म्यानेजर रहेको अनुमान गरिएको छ। घटनामा संलग्न चालक कुसाङ लामालाई भने प्रहरी नियन्त्रणमा नै छन्।



कागजपत्र |
