
सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सक संघ आक्रोशित
काठमाडौं– नेपाल चिकित्सक संघले प्रधानमन्त्रीको निर्देशनमा तीन मन्त्रीको सहभागितामा भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारप्रति कडा आक्रोश व्यक्त गरेको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यदि तत्काल सहमति कार्यान्वयन नभए पुनः सशक्त आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो।
संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार २४ गते संघ र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति हालसम्म पनि कार्यान्वयन नहुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीको निर्देशनमा भएको उक्त सहमतिअनुसार सात दिनभित्र कानुनी तथा नीतिगत संशोधनका लागि सुझावसहित प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने भनिएको थियो। तर, अहिलेसम्म कुनै ठोस प्रगति नभएको संघको दाबी छ।
संघले कार्यदल पूर्ण रूपमा निष्क्रिय रहेको र उच्च पदस्थ सरकारी अधिकारीहरूसँग विगतमा भएका सहमति समेत पालना नभएको उल्लेख गर्दै यस्ता मौखिक वा लिखित प्रतिबद्धताप्रति अब विश्वास गर्न नसकिने चेतावनी दिएको छ। विज्ञप्तिमा यस्ता प्रवृत्तिले सरकारप्रति जनताको विश्वास गुम्ने खतरा उत्पन्न भएको उल्लेख छ।
‘हामी बारम्बार वार्ताको बाटो रोज्यौं, तर सरकारले सहमतिहरू पालना गर्न असफल भएको देखिँदैछ। यदि हामीलाई पुनः आन्दोलनमा धकेलियो भने यो पटकको आन्दोलन अझ सशक्त र प्रभावकारी हुनेछ,’ संघको विज्ञप्तिमा भनिएको छ।
यसैबीच, संघले उपभोक्ता अदालतद्वारा चिकित्सक र स्वास्थ्य संस्थामाथि गरिएको जरिवाना निर्णयको विरोध गर्दै त्यसको खारेजीको माग पनि दोहोऱ्याएको छ। संघले स्वास्थ्यकर्मीहरूको सेवा, मनोबल र पेसागत स्वतन्त्रता माथि आघात पुर्याउने खालका निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।
चिकित्सक संघले सबै सरोकारवाला निकायलाई सहमति कार्यान्वयनमा गम्भीर हुन आग्रह गर्दै यथाशीघ्र कदम चाल्न चेतावनी दिएको छ।



कागजपत्र |
