
भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने अठोटमा स्पष्ट छु : प्रधानमन्त्री ओली
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिमा अडिग रहेको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद्हरूको प्रश्नोत्तरका क्रममा उनले भ्रष्टाचारको सवालमा कुनै सम्झौता नहुने स्पष्ट पारे। “भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने अठोटमा म स्पष्ट छु,” उनले भने, “तथ्यका आधारमा आएका गम्भीर भ्रष्टाचारका घटनामा सहनशीलता देखाइँदैन। तर, केवल आरोपको आधारमा कारबाही गर्न सकिँदैन।”
प्रधानमन्त्री ओलीले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी रोक्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, पुँजी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्राथमिकता रहेको बताए।
उनका अनुसार सरकारले २०८२ देखि २०९२ साललाई आन्तरिक रोजगार प्रवर्द्धन दशकका रूपमा घोषणा गरेको छ।
उनले कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता क्षेत्रहरूमा सरकारी तथा निजी क्षेत्रबाट भइरहेको लगानीका कारण उल्लेखनीय रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अब ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम’को रूपमा पुनर्संरचना गर्ने र यसलाई थप सीपमूलक तथा रोजगारीमूलक बनाउने नीतिमा सरकार लागेको उनको भनाइ थियो।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै कोशी र मधेश प्रदेशका २० पालिकामा ‘रेमी परियोजना’ अन्तर्गत पुनः एकीकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी उनले दिए। त्यस्तै, नयाँ पुस्ताका लागि स्टार्टअप तथा नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका अभियानहरू सञ्चालन भइरहेको पनि उनले उल्लेख गरे।



कागजपत्र |
