
सुनसरीमा जग्गा विवादपछि छोरा रियाजले आफ्नै बुवाको हत्या गरे
सुनसरी— सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा लामो समयदेखि चल्दै आएको पारिवारिक समस्या र जग्गा विवादले उग्र रूप लिएपछि छोराले आफ्नै बुवामाथि छुरा प्रहार गरी हत्या गरेका छन्।
देवानगञ्ज–३ का ३५ वर्षीय रियाज अन्सारीले ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिटसहित छुरा प्रहार गरेका थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार राति विवाद बढेपछि रियाजले आफ्ना बुवालाई कुटपिट गरेका थिए र गम्भीर चोटका कारण घटनास्थलमै सबिबको मृत्यु भएको छ।
पारिवारिक स्रोतले भने अनुसार अन्सारी परिवारमा जग्गाको स्वामित्व र अंशबन्डा विषयमा लामो समयदेखि विवाद चलिरहेको थियो र त्यसकै कारण घरमा पटक–पटक झगडा भइरहन्थ्यो।
प्रहरीले आरोपी रियाज अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।



कागजपत्र |
