स्नातक नपढी मुख्यमन्त्रीका स्वकीय सचिव बनेकाेमा अख्तियारको आपत्ति


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवका प्रमुख स्वकीय सचिव चन्देश्वर महतोबाट तलब, भत्ता र अन्य सेवा सुविधा असुल गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ।

महतोले अपुग शैक्षिक योग्यताका आधारमा नियुक्त गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। छानबिनपछि आयोगले महतोमा प्रमुख स्वकीय सचिव अर्थात् सहसचिव सरहको पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुगेको निष्कर्ष निकालेको हो। कानुन अनुसार उक्त पदका लागि कम्तीमा स्नातक तहको योग्यता अनिवार्य छ। तर महतोले प्रविणता प्रमाणपत्र तह मात्र अध्ययन गरेको प्रमाण पेश गरी नियुक्ति पाएका थिए।

महतोले झण्डै १० महिनासम्म सहसचिव सरहको सेवा सुविधा उपभोग गरेका थिए। उनले मासिक ५७ हजार ७८७ रुपैयाँ तलब, सरकारी सवारीसाधन र मधेश भवनमा आवास सुविधा प्रयोग गर्दै आएका थिए। अख्तियारले करिब दुई हप्ताअघि उक्त सुविधा फिर्ता गराउन निर्देशनसहितको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो।

यसअघि अख्तियारले महतोको नियुक्ति प्रक्रियाबारे विवरण माग्दा कार्यालयले “प्रमुख स्वकीय सचिवको नियुक्ति मुख्यमन्त्रीको विशेषाधिकार क्षेत्रभित्र पर्ने भएकाले रोक्न नसकिने” जवाफ दिएको स्रोतको दाबी छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जयकुमार राउतले महतोविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएको पुष्टि गरे। तर, महतोले भने अख्तियारको पत्र आफूले प्राप्त नगरेको दाबी गर्दै प्रमुख स्वकीय सचिव राजनीतिक नियुक्ति भएकाले शैक्षिक योग्यता लागू नहुने तर्क गरेका छन्।

तर कानुनी प्रावधानअनुसार सहसचिव सरहको राजनीतिक नियुक्तिमा पनि न्यूनतम स्नातक तहको शैक्षिक योग्यता अनिवार्य छ। पूर्वमुख्यमन्त्री यादवले सो मापदण्ड नपुगेका महतोलाई नियुक्त गरेका थिए।

प्रतिक्रिया