
खेल्दा निलेको कैंची पेटमा पुगेपछि…
विराटनगर- नोबेल मेडिकल कलेज, विराटनगरका चिकित्सकहरूले एक १५ वर्षीय बालकको पेटबाट शल्यक्रिया गरेर कैंची निकालेका छन्। खेल्ने क्रममा निलेको कैंची पेटभित्र अड्किएपछि बालकलाई शल्यक्रियामार्फत उपचार गरिएको हो।
उदयपुरका ती बालकलाई असार १७ गते नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो। कलेजका प्रबन्धक दीपेश राईका अनुसार ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको हो।
शल्यक्रिया सफल भएपछि बालकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
परिवारका अनुसार बालक घरमा टिभी हेर्दै गरेको बेला मुखमा खेलाइरहेको कैंची अचानक घाँटीभित्र पसेको थियो। कैंची अड्किएको भन्दै बालकले चिच्याएपछि हजुरबुबाले निकाल्न खोज्दा उल्टै कैंची झन् भित्र पसेर सानो आन्द्रासम्म पुगेको थियो।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नोबेल मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ पुगेको बेलासम्म कैंची पेटभित्र पुगिसकेको थियो।
गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका ती बालकको शल्यक्रिया ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको टिमले गरेको थियो।



कागजपत्र |
