नाबालिगबाट डिम्ब झिकेर अवैध कारोबार, बबरमहलको ‘होप फर्टिलिटी’ का ५ व्यवस्थापक पक्राउ


काठमाडौं- बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ले नि:सन्तान दम्पतीलाई सन्तान जन्माउने सहयोग गर्ने नाममा किशोरीहरूको शरीर प्रयोग गर्दै अवैध रूपमा डिम्ब निष्कासन गर्ने गरेको खुलेको छ। किशोरीको स्वास्थ्य, भविष्य र आत्मसम्मानसँग खेलवाड गर्ने कम्पनीका पाँच व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को प्रारम्भिक छानबिनमा कम्पनीले १८ वर्षमुनिका किशोरीलाई विभिन्न लोभ लालच देखाएर डिम्बा झिक्ने, सामान्य रकम दिएर बिदा गर्ने गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानपछि हाल उनीहरू हाजिर जमानतमा छुटेका छन्। अदालतले थुनामा नराखेर नै अनुसन्धान अगाडि बढाउन भनेपछि ब्युरोले उनीहरुलाई हाजिर जमानतमा छाडेको हो।

प्रहरीका अनुसार पछिल्लो पटक कम्पनीले दुई नाबालिग किशोरीलाई लोभ देखाएर क्लिनिकमा डाकेर डिम्बा निकालिएको थियो। किशोरीलाई प्रति व्यक्ति १० हजार रुपैयाँ दिइएको थियो भने बिचौलियालाई २० हजार रुपैयाँसम्म उपलब्ध गराइएको थियो। प्रहरी स्रोतका अनुसार, किशोरीहरूले आफ्ना अभिभावकलाई घटनाबारे बताएपछि मात्र घटना सार्वजनिक भएको हो।

अभिभावकले मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो। प्रारम्भिक अनुसन्धानमा घटना मानव अंग तस्करीजस्तो देखिए पनि पछि फरक प्रकृतिको देखिएपछि सीआइबीसँग समन्वय गरिएको थियो।

ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार, मानव बेचबिखन नपर्ने भएकाले अनुसन्धानको जिम्मा सीआइबीले लिएको हो। सीआइबी र ब्युरोको संयुक्त टोलीले हाल घटनाको अनुसन्धान गरिरहेको छ।

प्रहरीले असार २६ गतेदेखि अनुसन्धान सुरु गरेको थियो। त्यसपछि आइतबार दुई र सोमबार थप तीन जना गरी पाँच जनालाई पक्राउ गरिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पाँच दिनको म्याद थपका लागि अदालतमा निवेदन दिएको थियो।

स्वास्थ्य अनुसन्धान तथा यौन रोग विशेषज्ञ डा. खेमबहादुर कार्कीका अनुसार, नेपालमा शुक्रकीट बैंकको कानुनी व्यवस्था भए पनि डिम्बा दानको लागि हालसम्म कुनै कानुनी प्रावधान छैन। उनका अनुसार, अघिल्लो समय सेरोगेसी सेवा अनुमति दिइए पनि हाल त्यसमा प्रतिबन्ध लगाइएको छ।

प्रहरीको अपरेसनपछि होपको कार्यालय बन्द गरिएको छ। वेबसाइट पनि निष्क्रिय बनाइएको छ।

 

प्रतिक्रिया