दुई दलको अहंकारले देश विस्फोटको संघारमा: प्रचण्ड


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता मिलेमतो, अहंकार र बिचौलियामुखी राजनीति देशलाई जनविद्रोहको संघारमा पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रचण्डले संसद र संसदीय प्रक्रियालाई गम्भीर रूपले आलोचना गरे। उनले कांग्रेस–एमाले गठबन्धनले संसदलाई ‘बिचौलियाको खेलमैदान’मा रूपान्तरण गरेको आरोप लगाए।

“दुई ठूला दल मिल्दा जे गरे पनि हुन्छ भन्ने निरंकुश अहंकार छ,” उनले भने, “यदि गम्भीर समीक्षा र कठोर निर्णय भएनन् भने परिस्थितिहरू विस्फोटक बन्न सक्छन्।”

प्रचण्डले अहिलेको सरकार जनतामुखी नभएको जिकिर गर्दै दलाल पुँजीपतिहरू, बिचौलियाहरू र सीमित वर्गका लागि मात्रै शासन सञ्चालन भइरहेको आरोप लगाए। “राज्यका स्रोत र साधन सीमित दलाल पुँजिपति र बिचौलियाले दोहन गरिरहेका छन्, जनतामध्ये को खुसी छ?” उनले प्रश्न गरे।

उनले शिक्षकमाथिको दमन, राष्ट्रसेवकको आन्दोलनको चेतावनी, चिकित्सक आन्दोलन र सहकारी तथा मीटरब्याज पीडितका समस्या उल्लेख गर्दै सरकार जनभावनाबाट टाढा रहेको बताए।

प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रचण्डले सोधे, “एक वर्षको कार्यकालमा तपाईंले कसको विश्वास जित्नुभयो? कुन वर्ग लाभान्वित भयो?” उनले सरकारको कार्यशैलीबाट सत्तारूढ दलकै कार्यकर्ता समेत असन्तुष्ट रहेको टिप्पणी गरे।

प्रचण्डले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकारलाई गम्भीर समीक्षा र कडा निर्णयतर्फ अग्रसर हुन आग्रह गरे।

प्रतिक्रिया