कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्कासित


काठमाडौं – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरेको छ। २०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खनालमाथि कारबाही गरिएको हो।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद चौधरी र देवेन्द्रराज कँडेललाई हराउन भूमिका खेलेको भन्दै खनालविरुद्ध पार्टीमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको थियो।

कांग्रेस केन्द्रीय अनुशासन समितिले असार १७ गतेको बैठकमा उपलब्ध प्रमाण र खनालको स्पष्टीकरणलाई चित्तबुझ्दो नमान्दै पार्टी विधानको धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) बमोजिम उनलाई एक वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो।

अनुशासन समिति सभापति आनन्दप्रसाद ढुङ्गानाले प्रदेश समिति पठाएको पत्रमा यो निर्णय उल्लेख गरिएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी खनाल पार्टीको संस्थापनइतर गुटका नेताका रूपमा चिनिन्छन्।

यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले खनालको विषयमा बैठकमै आवाज उठाएका थिए।

प्रतिक्रिया