राजस्थानमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, २ जनाको शव फेला


काठमाडाैं- भारतकाे राजस्थान राज्यस्थित चुरू जिल्लाको रतनगढ क्षेत्र अन्तर्गत भानुदा गाउँमा भारतीय वायुसेनाको जगुआर फाइटर विमान दुर्घटनाग्रस्त भएको छ। दुर्घटनास्थलबाट दुई जनाको शव फेला परेको चुरूका एसपी जय यादवले पुष्टि गरेका छन्।

स्थानीयवासीका अनुसार आकस्मिक रूपमा आकाशमा ठूलो आवाज आयो, त्यसपछि खेततर्फ आगोको लप्का र बाक्लो धुवाँ देखिएको थियो। विमान रेगिस्तान क्षेत्रभित्र रहेको खेतमा रहेको एक रुखमा खसेको बताइएको छ, जसकारण रुखसमेत पूर्ण रूपमा जलेर नष्ट भएको छ।

विमान दुर्घटनाको खबर फैलिएसँगै ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा घटनास्थलतर्फ पुगेका थिए। उनीहरूले आगो निभाउने प्रयास गर्दै तत्काल प्रहरी प्रशासनलाई जानकारी दिएका थिए।

चुरूका प्रहरी प्रमुख यादवले जानकारी दिँदै भने, “वायुसेनाको विमान रुखमा खसेर दुर्घटना भएको छ। घटनास्थलबाट दुई वटा शव फेला परेका छन्। सेना र प्रहरीको टोली अहिले घटनास्थलमा खटिएको छ। सेना अहिले विमानको मलबा सङ्कलन गरिरहेको छ।”

विमान दुर्घटनाको कारण के थियो भन्नेबारे भने औपचारिक जानकारी आइसकेको छैन। प्रारम्भिक अनुमान अनुसार, प्रविधिक समस्या वा मौसमजन्य कारण हुन सक्ने बताइएको छ। सेना र वायुसेनाले यसबारे छानबिन सुरु गरेको जनाएको छ।

प्रतिक्रिया