कुलिङ पिरियड हटाइँदा कांग्रेस असन्तुष्ट, प्रवक्ता महतले भने – विश्वासघात भयो


काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ हटाइएकोप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले यसलाई विश्वासघातको संज्ञा दिएको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उक्त विषयमा पार्टीको स्पष्ट धारणा रहेको बताए। “कुलिङ पिरियड राख्नुपर्छ भन्ने कांग्रेसको अडान हो,” उनले भने।

महतका अनुसार सर्वसम्मत रूपमा समितिमा कुलिङ पिरियड राख्ने निर्णय भएको थियो। तर, उक्त निर्णयको आधारमा धेरै सांसदहरूले पूर्ण बैठक (फुल हाउस) मा दफावार रूपमा विधेयक नपढी समर्थन गरे।

“त्यो विश्वासमा माननीयहरूले पढ्नुभएन होला,” महतले भने, “त्यही ठाउँमा विश्वासघात भयो।”

प्रवक्ता महतले पदको दुरुपयोग गर्नेहरूलाई छानबिनको दायरामा ल्याई कारबाही गर्नुपर्ने माग गरे। “तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, अब संशोधन ल्याएर सच्याउनुपर्छ,” उनले भने।

उनले अझै माथिल्लो सदन (राष्ट्रिय सभा) मा विधेयक बाँकी रहेको भन्दै रोक्नुपर्ने सुझाव पनि दिए। “पहिले जे सहमति भएको थियो, त्यही कार्यान्वयन हुनुपर्छ,” महतले जोड दिए।

प्रतिक्रिया