अमेरिकी सहायता कटौतीले ५ वर्षमै १ करोड ४० लाख मानिसको ज्यान जाने जोखिम : अध्ययन


काठमाडौं— अमेरिकी सरकारले विदेशी मानवीय सहायता कार्यक्रमहरूमा गरेको कटौतीका कारण सन् २०३० सम्ममा विश्वभर १ करोड ४० लाख मानिसको ज्यान जाने जोखिम रहेको एक अध्ययनले चेतावनी दिएको छ। ज्यान जोखिममा पर्नेहरूमध्ये एक तिहाइभन्दा बढी बालबालिका हुने उल्लेख गरिएको छ। यो निष्कर्ष ‘द ल्यान्सेट’ नामक प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ, जसलाई बीबीसीले उद्धृत गरेको छ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) अन्तर्गतका ८० प्रतिशतभन्दा बढी मानवीय सहायता कार्यक्रमहरू रद्द गरिएको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै यी कार्यक्रमहरूमाथि गरिएको कटौतीका दीर्घकालीन परिणामहरू गम्भीर हुने बताएका छन्।

अध्ययन अनुसार सहायता कटौतीले विशेष गरी न्यून तथा मध्यम आय भएका देशहरूमा विश्वव्यापी महामारी वा सशस्त्र द्वन्द्वसरहको असर पार्न सक्छ। ल्यान्सेट रिपोर्टका सहलेखक डाभिडे रसेलाले यस्तो नीतिका कारण लाखौं मानिसको जीवन संकटमा पर्ने चेतावनी दिएका छन्।

अनुसन्धानकर्ताहरूले झन्डै १३३ देशका तथ्याङ्क विश्लेषण गर्दै सन् २००१ देखि २०२१ सम्मको अवधिमा यूएसएआईडीको सहयोगले करिब ९ करोड १० लाख मानिसको ज्यान जोगाएको निष्कर्ष निकालेका छन्। यूएसएआईडी विश्वका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालगायतका क्षेत्रमा सहायता पुर्‍याउँदै आएको छ।

सन् २०२४ मा अमेरिकी बजेटबाट यूएसएआईडीका लागि ४४.२० अर्ब डलर विनियोजन गरिएको थियो, जुन कुल बजेटको मात्र ०.४ प्रतिशत हो।

 

प्रतिक्रिया