
नक्कली सुनका गहना राखेर ११ लाख ऋण लिने दिलमाया प्रहरी फन्दामा
काठमाडौं- नक्कली सुनका गहना राखेर ११ लाख रुपैयाँ ऋण लिएकी एक महिला पक्राउ परेकी छन्। रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुरको राधे राधे बस्ने ४२ वर्षीया दिलमाया मगरलाई प्रहरीले पक्राउ गरेको हो।
२०८२ असार १० गते, दिलमायाले काठमाडौंको बुद्धनगरस्थित सुनचाँदी पसलमा नक्कली गहना राखेर ऋण लिएकी थिइन्। उनले सुनचाँदी पसलबाटै बनाएका नक्कली बिलसमेत पेश गरेको प्रहरीले जनाएको छ।
असार १५ गते, फेरि ऋण आवश्यक परेको भन्दै थप गहना लिएर जाँदा प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले उनलाई गहनासहित पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनलाई ठगीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले दिलमायामाथि नक्कली प्रहरीको पोसाक प्रयोग गरी व्यवसायीहरूलाई डर देखाएर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप पनि लगाएको छ।
उनको साथबाट प्रहरीले १२ थान माइली तिलहरी, १६ थान छड्के तिलहरी, १७ थान सुनचाँदी पसलका बिल बरामद गरेको छ।



कागजपत्र |
