प्रहरी भन्दै अपहरण र लुटपाट गर्ने दुई जना विराटनगरबाट पक्राउ


विराटनगर- आफूलाई प्रहरी परिचय दिएर अपहरण र लुटपाट गरेको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, पक्राउ परेकामध्ये २४ वर्षीय समीर हुसेन विराटनगर–८ र २५ वर्षीय तासिब अन्सारी विराटनगर–६ निवासी हुन्। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार छन्।

प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१३ को महतो टोलबाट तीन जनाको समूहले विक्रमकुमार साहलाई “हामी प्रहरी हौं” भन्दै अपहरण गरेका थिए। त्यसपछि उनलाई विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म पुर्‍याई धम्क्याउँदै नगद लुटिएको थियो।

पीडित विक्रमका भिनाजु धर्मानन्द साहका अनुसार, विक्रमले सापटी लिएको तीन लाख ६४ हजार रुपैयाँ लिएर घर फर्कंदै गर्दा अन्सारीसहितको समूहले उनीमाथि नियन्त्रण लिएर पछाडि फर्किएमा ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि उक्त रकम लुटेर समूह फरार भएको थियो।

प्रहरीले पक्राउ परेकाविरुद्ध डाँका सम्बन्धी मुद्दा अघि बढाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया