
१७ वर्षीया किशोरीमाथि बलात्कार, वाईसीएल नेता रेशम क्षेत्री पक्राउ
रूकुम पश्चिम – नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन वाईसीएल (योङ कम्युनिष्ट लिग) का कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगर कमिटी इन्चार्ज रेशम खत्री क्षेत्री बलात्कारको आरोपमा पक्राउ परेका छन्।
१७ वर्षीया जाजरकोटकी किशोरीले दुई महिनाअघि क्षेत्रीविरुद्ध जाहेरी दिएकी थिइन्। उनले २०७९ चैतमा चौरजहारीको एक होटलमा बलात्कार गरिएको उल्लेख गरेकी छिन्। ती किशोरी अहिले एक छोरीकी आमा भइसकेकी छन्।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार बिहीबार राति सानीभेरी गाउँपालिकाको एक होटलबाट क्षेत्रीलाई पक्राउ गरिएको हो। क्षेत्रीलाई म्याद थपका लागि शुक्रबार अदालतमा पेश गरिने जनाइएको छ।
जाहेरीअनुसार क्षेत्रीले गर्भपतन गराउन दबाब दिएका थिए भने बच्चा जन्मिएपछि सबै खर्च व्यवस्थापन गर्ने र उजुरी नदिन चेतावनी दिएको पनि उल्लेख छ। स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए र क्षेत्रीले विभिन्न आश्वासन दिएर उजुरी रोकेका थिए।
पहुँचको दम्भ देखाउँदै उम्कने धम्की दिने क्षेत्री पछिल्ला दिनमा फरार रहेका थिए। तर, प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।



कागजपत्र |
