
दमबाट पीडित वैद्यको स्वास्थ्यमा उल्लेखनीय सुधार
काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तीले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’लाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन्।
पुन–घर्ती दम्पतीले बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्यको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित रहँदै आएका छन्। पछिल्लो समय दमको समस्या बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि उनलाई जेठ १५ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो।
उपचारका क्रममा उनलाई १० दिनसम्म अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि असार २ गते उनलाई डिस्चार्ज गरिएको हो।
नेता पुनका अनुसार वैद्यको स्वास्थ्यमा चामत्कारिक सुधार देखिएको छ। “पहिले नियमित अक्सिजन चाहिने अवस्था थियो, अहिले अक्सिजन बिना नै बस्न सक्ने हुनुभएको छ,” पुनले बताए। “बिहान-बेलुका हल्का हिँड्नसमेत थालेको छु भन्नुभयो।”
पुन–घर्ती दम्पतीको स्वास्थ्य बुझ्न आएकोप्रति वैद्यले खुसी व्यक्त गरेका थिए। भेटघाटको क्रममा उनीहरूबीच राजनीतिक विषयभन्दा बढी स्वास्थ्य र पारिवारिक सरोकारमा कुराकानी भएको पुनले जानकारी दिए।
पुन र वैद्यबीच पुरानो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै पुनले भने, “वैद्य पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा म त्यही कमाण्डको दोस्रो वरियताका नेता र सैन्य विभागको इन्चार्ज थिएँ।”
वि.सं. २०६१ मा पुन दम्पतीको दोस्रो सन्तान जन्मिँदा वैद्य र उनकी पत्नी सुष्मा वैद्य उनीहरूसँगै थिए। “हाम्रो छोराको नाम ‘उत्सव’ उहाँले नै राखिदिनुभएको थियो। करिब ६ महिनासम्म सुष्मा भाउजूले हाम्रा बाबुको स्याहार गर्नुभएको थियो,” पुनले पुराना दिन सम्झिए।



कागजपत्र |
