लागु औषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्री लेखकको घोषणा


काठमाडौं- गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने बताएका छन्। बिहीबार काठमाण्डौंमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्।

गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। लागुऔषधसेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको उनले बताए। ‘मुख्य विषय भनेको यसको रोकथाम हो। जनचेतना महत्वपूर्ण विषय हो। लागुऔषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ।’ लेखकले भने,“ लागुऔषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।’

लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।‘एक लाख ३४ हजार जना लागुऔषध सेवन कर्ता रहेको तथ्याङ्क छ। समाज नराम्रोसित प्रभावित हुदैछ।’ उनले भने,‘मुलुकभरका कारगाराका कैदीबन्दीहरुमध्ये दोस्रो ठूलो संख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ।’

 

प्रतिक्रिया