
प्रहरीसम्बन्धी विधेयक असारभित्र संसदमा लैजाने गृहमन्त्री लेखकको तयारी
काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न आवश्यक वातावरण तयार पार्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारमा बसेको संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सदस्यहरूलाई विधेयक पारित गर्न छलफलमा सक्रियताका साथ जुट्न आग्रह गरे।
“समितिमा आजबाट प्रहरीसम्बन्धी कानुन संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेका छौं,” मन्त्री लेखकले भने, “७० सालपछि प्रहरी कानून बनाउँदैछौं। यो मेरो र गृहमन्त्रालयको उच्च प्राथमिकताको विषय हो। छलफलका लागि तपाईंहरूले आवश्यक भनेको समय हामी दिन तयार छौं।”
उनले सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकलाई पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यसमा समेत चाँडो निर्णय गर्न अनुरोध गरे। “गृह मन्त्रालयअन्तर्गतका अन्य विधेयकहरू पनि पाइपलाइनमा छन्,” उनले भने, “समितिले प्राथमिकता दिएकोमा धन्यवाद दिन चाहन्छु।”
मन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संरचना, सेवा, सुविधा, अधिकार र दायित्व स्पष्ट पार्ने खालका कानुन आवश्यक रहेको उल्लेख गर्दै विधेयकहरू टुंग्याउन सबैको सहयोग अपेक्षा गरेका हुन्।



कागजपत्र |
