अब अनुमति बिना एम्बुलेन्स चलाउन नपाइने


काठमाडौं – अबदेखि देशभरका एम्बुलेन्सहरूलाई अनिवार्य रूपमा सरकारबाट अनुमति लिएर मात्र सेवा दिन पाइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गतको राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको २०८२ जेठ ३० गते बसेको बैठकले बिना अनुमति सञ्चालन भइरहेका एम्बुलेन्सहरूलाई अब अनुमतिबिना चलाउन नपाइने निर्णय गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “अबदेखि एम्बुलेन्स सेवा दिन चाहनेले जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सँग समन्वय गरी, सम्पूर्ण मापदण्ड पूरा गरेर मात्र सेवा दिन सक्नेछन्।”

अनुमति प्राप्त गर्नका लागि जीपीएस प्रणाली जडान, प्रेषण केन्द्र प्रणालीमा आबद्धता, राजश्व छुट लिएको जिल्लामै सेवा दिइरहेको हुनु, फोरह्विल सवारी हुनुजस्ता प्राविधिक मापदण्ड अनिवार्य गरिएको छ।

त्यसैगरी, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ को दफा १३ (ञ) अनुसार राजश्व छुटका लागि प्रदेश सिफारिस पत्रमा यसअघिको छुट लिएको/नलिएको स्पष्ट उल्लेख गर्नुपर्नेछ। साथै, चालकले तालिम लिएको प्रमाण, सवारीको वर्ग, रङ र आवश्यक उपकरणहरू पूरा भएको प्रमाणित हुनुपर्नेछ।

प्रतिक्रिया