धनगढीमा युवती मृत फेला: घाँटीमा धारिलो हतियार प्रयोग, लिभिङमा बस्ने युवक फरार


कैलाली- कैलालीकाे धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा सोमबार बिहान एक युवती मृत अवस्थामा फेला परिन्। पुनर्वास नगरपालिका–११, अमरबस्ती घर भइ हाल धनगढीमा बस्दै आएकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

रेणु चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्। उनले हालै धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तरसम्बन्धी तालिममा समेत सहभागिता जनाएकी थिइन्। तर त्यसयता सम्पर्कविहीन रहेकी उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार चौधरी दुई महिनादेखि एक युवकसँग कोठामा बस्दै आएकी थिइन्, तर ती युवक को हुन् भन्ने पहिचान खुल्न सकेको छैन। चौधरीको कोठाको ढोकामा बाहिरबाट ताल्चा लागेको थियो। शवबाट दुर्गन्ध आउन थालेपछि घरधनीले झ्यालबाट हेर्दा उनी मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार चौधरीको घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ भने कन्चटमा समेत चोट देखिएको छ। घटनास्थल सिल गरी अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत सहारा लिइएको प्रहरीले जनाएको छ।

हत्या भइसकेपछि बाहिरबाट ढोका थुनेर अभियुक्त फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। हाल घटना विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया