जिम्मेवारी खोसिएका ४ वडाध्यक्षको विरोधमा बालेनको युटर्न


काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) कार्यपालिकाको स्वीकृति बिना चार जना वडाध्यक्षको जिम्मेवारी हठात् परिवर्तन गर्ने निर्णयबाट पछि हट्न बाध्य भएका छन्।

सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना प्रविधि समितिमा रहेका वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई बिना कार्यपालिका बैठक जिम्मेवारीबाट हटाइएको थियो। यो कदमलाई ती वडाध्यक्षहरूले ‘एकल स्वेच्छाचारिता’ भन्दै कडा विरोध गरेका थिए।

नवनियुक्त वडाध्यक्षहरूले समेत पद अस्वीकार गरेपछि विवाद चुलिएको थियो। वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा ३० का दलबहादुर कार्की र वडा ८ का विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्तिमार्फत जिम्मेवारी नस्वीकार्ने बताएका थिए।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा बसेको कार्यपालिका तथा नगरसभा सदस्यहरूको अनौपचारिक बैठकपछि निरन्तर चापमा परेका मेयर बालेनले निर्णय फिर्ता लिएको काठमाडौँ महानगर स्रोतले जनाएको छ।

प्रतिक्रिया