


एयर इन्डिया विमान दुर्घटना: २४२ सवारमध्ये १३३ को शव फेला

काठमाडौँ — भारतको अहमदाबादस्थित सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनतर्फ उडेको एयर इन्डियाको विमान बिहीबार दिउँसो १:३८ बजे उडेको दुई मिनेटमै मेघानीनगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानले उड्नेबित्तिकै पर्याप्त उचाइ लिन नसक्दा घरमाथि खस्दै दुर्घटना भएको हो। उक्त भवन मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने आवासीय ब्लक रहेको बताइएको छ। घटनामा १५ जना डाक्टर घाइते भएका छन्।
विमानमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये १५९ जना भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानाडेली थिए। दुर्घटनापछि विमान आवासीय क्षेत्रमै खसेकाले अन्य स्थानीय बासिन्दा पनि हताहत भएको आशंका गरिएको छ।
गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सोही विमानमा सवार थिए। उनी बेलायतमा रहेका छोरीलाई भेट्न जाँदै थिए। हालसम्म १३३ जना यात्रुको शव संकलन गरी सरकारी अस्पताल लगिएको छ। शवहरू चिनिन नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षणमार्फत पहिचान गरिने भएको छ।
दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ। घटनापछि सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ।
बकिंघम प्यालेसका अनुसार बेलायती राजा चार्ल्स तृतीयले दुर्घटनाको बारेमा अपडेट लिइरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह घटनास्थलतर्फ जाँदै छन्। गुजरात उनीहरूको गृहराज्य हो।
एयर इन्डियाले घटनापछि आफ्नो सामाजिक सञ्जाल प्रोफाइल ब्ल्याकआउट गरेको छ। कम्पनीले औपचारिक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ।

