
भारतको अहमदाबादमा एयर इन्डियाकाे विमान दुर्घटना
काठमाडाैं- भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लण्डन उड्ने क्रममा क्र्यास भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमानमा ३ सय यात्रु अटाउने क्षमता भए पनि सो बेला २४२ जना यात्रु सवार थिए। विमान टेकअफ गर्ने क्रममा मेघानीनगरस्थित एयरपोर्ट नजिकैको ग्राउन्डमा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनापछि आकाश कालो धुवाँले ढाकिएको थियो। विमान भुइँमा खसेपछि आगो लाग्दै विस्फोट भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। विमानको पखेटा (विङ) टुक्रिएको र आगलागीले विमान पूर्ण रूपमा जलिसकेको छ।
दुर्घटनाको जानकारी पाए लगत्तै स्थानीय बासिन्दाहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी, दमकल र एम्बुलेन्स टोली तुरुन्तै पुगेका छन्। दमकलका सातवटा गाडी र एम्बुलेन्स परिचालन गरिएको छ भने राष्ट्रिय विपद् प्रतिकार्य बलका दुई टोली पनि उद्धारमा खटिएका छन्।
विमानस्थल नजिकैको सिविल अस्पतालका सबै चिकित्सक तथा कर्मचारीहरूलाई आकस्मिक रूपमा बोलाइएको छ। छुट्टिमा रहेका डाक्टरहरूको बिदा रद्द गरिएको र अस्पतालमा लगातार एम्बुलेन्स आउजाउ भइरहेको जनाइएको छ।
विमान दुर्घटनापछि घटना स्थलका तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेका छन्। भिडियोहरूमा ठूला आगोका लप्काहरू, घनैरो कालो धुवाँ र उद्धार टोलीको अफरातफरी देखिन्छ। स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ।
गुजरात राज्य प्रहरी कन्ट्रोल रूमले दुर्घटनाको पुष्टि गरिसकेको छ। हालसम्म क्षतिको विस्तृत विवरण आउन बाँकी छ भने उद्धार कार्य जारी छ।



कागजपत्र |
