अहमदाबादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री विजय रूपाणी पनि सवार


अहमदाबाद — भारतको गुजरात राज्यस्थित अहमदाबादको मेघानीनगर क्षेत्रमा आज विहान एयर इन्डियाको विमान दुर्घटनामा परेको छ। लन्डन ग्याटविक विमानस्थलतर्फ उडेको यो विमान टेकअफ भएको केही क्षणमै विमानस्थल नजिकैको क्षेत्रमै दुर्घटनाग्रस्त भएको हो।

विमानमा २४२ जना यात्रु र १२ जना चालक दलका सदस्यसहित कुल २५४ जना सवार थिए। तीमध्ये गुजरात राज्यका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता विजय रूपाणी पनि थिए।

प्रारम्भिक विवरणअनुसार टेकअफपछिको एक मिनेटमै विमान ६२५ फिट उचाइमा पुगेको बेला दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान सम्भवतः नजिकैको रुखमा ठोक्किएर भुइँमा खसेको हो। त्यसपछिको दृश्य निकै भयावह भएको बताइएको छ।

दुर्घटनामा विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनास्थलमा आगलागी भएको र काला धुवाँको मुस्लो उठेको देखिएको छ। दमकलका गाडी, एम्बुलेन्स र उद्धार टोली सक्रिय रूपमा उद्धारमा जुटेका छन्।

विमानको कमान क्याप्टेन सुमित सभरवाल र फर्स्ट अफिसर क्लाइव कुन्दरले सम्हालेका थिए।

पूर्व मुख्यमन्त्री विजय रूपाणी सन् २०१६ देखि २०२१ सम्म दुई कार्यकाल गुजरातको मुख्यमन्त्री रहेका थिए। उनी राजकोट पश्चिम क्षेत्रबाट विधायक निर्वाचित हुँदै आएका छन्।

हालसम्म दुर्घटनामा कति जनाको ज्यान गएको वा घाइते भएको भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। विजय रूपाणीको अवस्थाबारे पनि पुष्टि हुन बाँकी रहेको जनाइएको छ। उद्धार कार्य जारी छ र विस्तृत जानकारी प्रतीक्षारत छ।

प्रतिक्रिया