एक साताभित्र देशभर फैलिँदै मनसुन, भारी वर्षाको सम्भावना


काठमाडौं- जल तथा मौसम विज्ञान विभागले एक साताभित्र नेपालभर मनसुन सक्रिय हुने जनाएको छ। विभागका अनुसार यस वर्ष औसत मिति भन्दा १५ दिनअघि नै पूर्वी नेपालमा मनसुन प्रवेश गरिसकेको छ भने अब त्यो क्रम देशभर फैलिँदै गएको छ।

विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार हाल कोशी प्रदेश वरपर मनसुन सक्रिय भइसकेको छ। “मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै सीमित छ, तर अब देशभर फैलिने अनुकूल वातावरण बनिरहेको छ,” उनले भनिन्, “एक साताभित्र सबै प्रदेशमा मनसुन सक्रिय हुनेछ।”

कँडेलका अनुसार देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। उनले हालै देशव्यापी रूपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको पनि बताइन्।

उनले यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम औसत भन्दा माथि रहने सम्भावना रहेको उल्लेख गरिन्। साथै, जल तथा मौसम प्रकोपबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि सर्वसाधारणले मौसमसम्बन्धी जानकारी समयमै लिनुपर्नेमा जोड दिइन्।

विभागले आगामी दिनमा वर्षाका गतिविधिहरू अझ तीव्र हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया