


बालेन शाहविरुद्ध लिफ्ट जडान प्रकरणमा अख्तियारमा उजुरी

काठमाडौं – काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले महानगर प्रमुख बालेन शाहविरुद्ध अपारदर्शी तरिकाले लिफ्ट जडान गरिएको आरोप लगाउँदै उजुरी दर्ता गराएका हुन्।
सफलले लिफ्ट जडानको प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को उल्लंघन भएको उल्लेख गर्दै प्रतिस्पर्धाविना, टेन्डर र कोटेसन नबोलाई लिफ्ट जडान गरिएकोप्रति आपत्ति जनाएका छन्।
“लिफ्ट जडान गर्नुमा मेरो आपत्ति छैन,” उजुरीमा भनिएको छ, “तर प्रक्रियामा पारदर्शिता र कानुनी व्यवस्था पालना नगरी गरिएको कार्य आपत्तिजनक छ।”
उजुरीमा लिफ्ट जडानसम्बन्धी सम्पूर्ण कागजात सङ्कलन गरी छानबिन गर्न माग गरिएको छ।

